बस्न सकेन आज पनि नेकपा सचिवालय बैठक, बुधबारका लागि सर्यो

काठमाडौं, साउन २८ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ ।

आजको बैठकमा तयारी नपुगेकाले सचिवालय बैठक अब बुधबारका लागि सारिएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने भनिएपनि तयारी नपुगेकाले सारिएको श्रेष्ठले बताए ।


अब अर्को बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।


यसैबिच नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । यसको साम्य पनि हुनसकेको छैन।

अन्य विभागको टुंगो लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

पार्टी एकता भएको एक वर्ष पूरा भएपनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्