रसुवागढी हाइड्रोपावरले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ।

बोर्डले बिहीबार रसुवागढी जलविद्युत् आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो। कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति दिइएको बताए। कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको बताएका छन्।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन्।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ। आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिए।

कुल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६ सय मिटर निर्माण सकिएको र बाँकी रहेको सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उनले बताए।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर विविध कारणले गर्दा २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ।

कुल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एंव सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ।रासस

प्रतिक्रिया दिनुहोस्