सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनायो, माफी माग्दै तत्काल खाली गर्नुपर्छ: कांग्रेस

काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियम र नैतिकता विपरित सत्तारुढ नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञिप्ति जारी गर्दै आफैं सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना नगर्ने र अरुलाई उपदेश दिएर नेकपाले नैतिकताको खिल्ली उडाएको उल्लेख गरेका छन्।

‘हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयक पनि संविधानले प्रत्याभूत गरेको अधिकार विपरित रहेको भन्दै सच्याउन माग गरेको छ।

गोंगबु बसपार्कको प्रकरणप्रति कांग्रेसले ध्यानाकर्षण जनाएको छ। ‘जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस यस सम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ।’

नेकपाले कांग्रेसलाई हेर्ने दृष्टिदोषलाई लिएर पनि विज्ञिप्तमा ध्यानाकर्षणसहित स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्