समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्नेः प्रचण्ड
काठमाडौँ, साउन १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवाद निमार्णको आधार तय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन ।
उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारा अघि सारेको उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको पनि बताएका छन् ।
साथै दाहालले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा समेत गरे ।
क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आदर्श भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि अध्यक्ष दाहालको भनाई थियो ।
अध्यक्ष दाहालले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिष्टहरुका लागि आदर्श बनिरहने दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्