कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार छैैनः प्रधानमन्त्री

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको दाबी गर्दै सचेत रहन पनि आग्रह गरे।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार आएका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोग विना सरकार एकलैले केही गर्न नसक्ने बताए ।

कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै उनले आन्दोलनमा जाने धम्की नदिन आग्रह गरे ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेको भन्दै समाधान गरिदिन आग्रह गरे ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको तहगत प्रणालीअनुसार सेवा सुविधाका लागि बजेटको व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्