नेकपामा कसको बाहुल्य कती ?
काठमाडौं, ६ साउन । नेकपाले केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लाको पार्टीको काममा खटाइएको छ । जिल्ला इञ्चार्जहरु तोकिँदा संख्याको हिसाब गर्दा अध्यक्ष केपी ओलीभन्दा प्रचण्ड समूहमा बढी इञ्चार्जहरु परेका छन् । अझै पार्टीले केन्द्रीय विभागको टुंगो लगाउन सकेको छैन ।
जिल्ला नेतृत्वमा माधव नेपाल तेस्रो शक्तिका रुपमा कायम छन् भने चौथो गुटका नेताहरु वामदेव गौतम र बादलले लगभग बराबरी हिस्सा पाएका छन् । नारायणकाजी समूहमा जिल्ला इञ्चार्जहरु थोरै मात्र छानिएका छन् ।
नेकपाले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दा २३६ जना केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् । यसअघि नै ७ प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्ष र सचिव केन्द्रीय सदस्यबाटै तोक्दा २८ जनाले जिम्मेवारी पाइसकेका छन् ।
डीआर पौडेलको निधन र वंशीधर मिश्रको राजदूतमा नियुक्तिसहित हाल नेकपा केन्द्रीय कमिटीको संख्या ४४१ सदस्यीय छ ।
नेकपाको कुल ४४३ सदस्यीय केन्द्रीय कमिटीका २६४ जनाले प्रदेश र जिल्लाको जिम्मेवारी पाउँदा ६० प्रतिशत नेताहरु अब भूगोलको काममा खटिनुपर्नेछ ।
महासचिव बिष्णु पौडेलले पार्टी एकीकरण लगत्तै केन्द्रीय कमिटीका ६० प्रतिशत नेताहरुलाई भूगोलको काममा खटाउने योजना नेतृत्वलाई सुनाएका थिए ।
महासचिव पौडेलको प्रस्तावअनुसार नै दुवै अध्यक्ष सहमत भई केन्द्रीय सचिवालयले आइतवार ८३ जना इञ्चार्जसहित १५३ जना केन्द्रीय सदस्यलाई सहइञ्चार्ज बनाएर जिल्लाको काममा खटाउने निर्णय गरेको हो । बाँकी ४० प्रतिशतमध्ये २० प्रशितलाई केन्द्रीय विभाग र २० प्रतिशतलाई जनसंगठनको काममा खटाउने पौडेलको प्रस्ताव थियो ।
नेकपाका एक नेताले भने, जिम्मेवारी पाइएन भन्दै बालुवाटार, खुमलटार र कोटेश्वरतिर नेताका निवास धाउने कमरेडहरुलाई आ–आफ्नो जिल्लामा पार्टी बलियो बनाउने जिम्मा दिइएको छ । अब पनि काठमाडौंमै देखिए भने तपाई यतै हुनुहुन्छ ? भनेर सोध्दा लाज हुन्छ भनेर पनि उहाँहरु कार्यक्षेत्रमा जानुहुनेछ ।
केन्द्रीय कमिटीको दुई तिहाई संख्यालाई भूगोलको काममा केन्द्रित गर्नका लागि एउटै जिल्लामा धेरै सहइञ्चार्जहरु राखिएको नेताहरुले बताएका छन् । यद्यपि इञ्चार्ज र सहइञ्चार्ज कार्यकारी पद नभएकाले उनीहरुले जिल्ला र निर्वाचन क्षेत्र तथा स्थानीय तहसम्मका पार्टी कामको संयोजनमा सघाउने एक नेताले बताए ।
ओली निकट इञ्चार्जहरुः
७७ जिल्ला र ६ महानगरपालीका ८३ इञ्चार्जमध्ये पूर्वएमालेले पाएका ४५ जनामा केपी ओली पक्षका २२ जना छन् । त्यस्तै माधव नेपाल पक्षका १७ जना छन् । बरिष्ठ नेता झलनाथ खनालले भने आफ्नो अलग्गै गुट खडा गरेका छैनन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आफ्नै प्रदेश १ मा खोटाङका विशाल भट्टराई बाहेक अरु सबै माधव नेपाल पक्षका छन् । प्रदेश २ मा ओली पक्षबाट सप्तरीमा रामप्रित पासवान, सिरहामा लीलानाथ श्रेष्ठ र बारामा बलवीरप्रसाद चौधरी इञ्चार्ज बनेका छन् ।
प्रदेश ३ मा ओलीपक्षबाट जिल्ला इन्चार्ज बन्नेमा नुवाकोटका महेन्द्रबहादुर पाण्डे, काभ्रेपलान्चोकका गोकुल बाँस्कोटा मात्र छन् । गण्डकी प्रदेशबाट जिल्ला इञ्चार्ज बन्ने ओलीनिकट नेताहरुमा स्याङजाकी पद्मा अर्याल, मनाङका रामशरण बस्नेत, लमजुङका मायानाथ अधिकारी र नवलपरासी पूर्वका तिलक महत छन् ।
प्रदेश ५ मा रुपन्देहीका लीला गिरी, पश्चिम नवलपरासीका बैजनाथ चौधरी, बाँकेका दिनेश यादव, अर्घाखाँचीका नजिर मिया, रुकुम पूर्वका खेममान खड्का ओली निकट हुन् ।
कर्णाली प्रदेशबाट जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, मुगुका मोहन बानियाँ, दैलेखका लक्ष्मी पोखरेल, डोल्पाका हंशवहादुर शाही ओली निकट हुन् ।
सुदूरपश्चिम प्रदेशमा डोटीका प्रेम आले पछिल्लो समय भीम रावलसँगको विवादका कारण ओली पक्षमा खुलेका छन् भने कञ्चनपुरका विक्रम शाही ओली निकट हुन् । पोखरा महानगरपालिकाका इञ्चार्ज मानबहादुर जीसी पनि ओली निकट मानिन्छन् ।
नेपाल पक्षका इञ्चार्ज
माधव नेपाल पक्षले प्रदेश १ मा सबैभन्दा धेरै जिल्लामा इञ्चार्ज प्राप्त गरेको छ । ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रविन कोइराला, सुनसरीका धर्म निरौला, संखुवासभाका राजेन्द्रकुमार राई, तेह्रथुमकी जयन्ती राई, उदयपुरका बलदेव चौधरी र ओखलढुंगाका यज्ञराज सुनुवार माधव नेपाल निकट हुन् ।
मोरङका इञ्चार्ज बनेका घनेन्द्र बस्नेत विगतमा केपी ओली निकट रहे पनि हाल माधव नेपाल पक्षसँग नजिक रहेको बताइन्छ ।
प्रदेश २ मा माधव नेपाल पक्षबाट इञ्चार्ज बन्नेमा पर्साका नागेन्द्र चौधरी र वीरगञ्ज महानगरपालिकाका इञ्चार्ज दिनेश राई छन् ।
प्रदेश ३ मा नेपाल पक्षबाट धेरै इञ्चार्ज बनेका छन् । चितवनका कृष्ण खनाल, मकवानपुरका बिरोध खतिवडा, रामेछापका देवशंकर पौडेल, काठमाडौं महानगरका जीवनराम श्रेष्ठ, ललितपुर महानगरकी सुशीला नेपाल माधव नेपाल पक्षका हुन् ।
गण्डकी प्रदेशमा माधव नेपाल पक्षबाट इञ्चार्ज हुनेमा मुस्ताङकी श्रीमाया थकाली मात्र छिन् भने प्रदेश ५ मा पाल्पाका सोमप्रसाद पाण्डे मात्र माधव नेपाल पक्षबाट इञ्चार्ज बनेका छन् । यद्यपि पाण्डे माधव नेपालका सम्धी हुनुबाहेक ओली पक्षसँग सहकार्य गर्ने नेतामा पर्छन् । उनी महासचिव बिष्णु पौडेलका विश्वासपात्र हुन् ।
कर्णाली प्रदेशका कुनै पनि जिल्लामा नेपाल पक्षले इञ्चार्ज पाएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि नेपाल पक्षले जिल्ला इञ्चार्ज पाएन । सुदूरपश्चिम प्रदेशका ५ जिल्ला इञ्चार्ज पूर्वएमालेले पाउँदा बामदेव गौतम निकट तीन जनाले पाएका छन् ।
वामदेव पक्ष ?
केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई पुनः आफ्नो पक्षमा पार्न खोज्नु र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयन गर्दा गौतम निकट केन्द्रीय सदस्यहरुले उल्लेख्य जिम्मेवारी पाउनु संयोग मात्र हुन सक्छ । तर, नेकपामा विशेष गरी पूर्वएमालेभित्र गौतमले तेस्रो शक्तिको मान्यता पाएका छन् ।
नेकपाका ७७ जिल्ला र ६ महानगर कमिटीका ८३ इञ्चार्ज तोकिँदा गौतम निकट ६ जना नेताले जिम्मेवारी पाएका छन् । यद्यपि उनीहरु वामदेव निकट भएका कारण भन्दा पनि साविकको मापदण्डबाट परेको नेताहरु बताउँछन् ।
ाजधानीका १० निर्वाचन क्षेत्र र सबैभन्दा धेरै पार्टी सदस्य रहेको काठमाडौं जिल्लाको इञ्चार्ज बनेकी सावित्रा भुसाल वामदेव निकट मानिन्छिन् । उनी साबिक एमालेमा पनि काठमाडौं जिल्लाको इञ्चार्ज थिइन् ।
दार्चुलाका गणेश ठगुन्ना, बझाङका भैरबबहादुर सिंह र बाजुराका लालबहादुर थापा पनि बामदेव गौतम निकट मानिन्छन् । म्याग्दीका भुपेन्द्रवहादुर थापा र बर्दियाका इञ्चार्ज लक्ष्मण ज्ञवाली पनि बामदेव निकट हुन् ।
पूर्वएमालेमा नवौं महाधिवेशनदेखि ओली र वामदेव सँगै थिए । पछिल्लो समय गौतम ओलीसँग टाढिएका छन् । यद्यपि उनले आफू कुनै गुटमा नरहेको भन्दै आफूनिकट नेता कार्यकर्तालाई जता राजनीतिक भविष्य सुरक्षित हुन्छ, त्यतै लाग्न पहिले नै आग्रह गरेका थिए ।
आठौं महाधिवेशनसम्म गौतमसँग ०५४ सालमा एमाले फुटेर माले बन्दाखेरिका अधिकांश नेता कार्यकर्ता थिए । तर, ५ वर्षअघिको नवौं महाधिवेशनसम्म आउँदा गौतम ओलीतिर लागे भने गौतमलाई साथ दिँदै आएका घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु माधव नेपालतिर लागेका थिए ।
गौतम पछिल्लो समय नेकपाको संगठन विभाग प्रमुखको दाबेदार छन् । शुरुमा उनलाई संगठन विभाग प्रमुख बनाउन अनुदार रहेको भनिएका अध्यक्ष ओली पछिल्लो समय सहमत भएका थिए । उनले गौतमलाई जन्मदिनको अवसर पारेर बालुवाटारस्थित निवासमै बोलाएर केक काटेका थिए ।
पूर्वमाओवादीमा प्रचण्डको हालीमुहाली
पूर्वमाओवादीले पाएका ३८ जिल्ला इञ्चार्जमध्ये अधिकांश प्रचण्ड निकटका छन् । तर, यसपटक जिल्ला इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल पक्षधरले पनि स्थान पाएका छन् । श्रेष्ठ निकट ३ जना इञ्चार्ज बन्दा बादल निकट ६ जना बनेका छन् ।
श्रेष्ठ निकटका इञ्चार्जमध्ये सर्लाहीका डाचाराज वाग्ले, महोत्तरीका राजु खड्का र दाङका जीवन गौतम छन् ।
बादल निकट जिल्ला इञ्चार्जहरुमा पाँचथरका इन्द्र आङ्बो, सिन्धुलीका बिषमलाल अधिकारी, भक्तपुरका दिलिप प्रजापति, तनहुँका हरिबहादुर चुमान र कैलालीकी रुपा चौधरी छन् ।
प्रतिक्रिया दिनुहोस्