शक्तिशाली सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेनः अध्यक्ष राणा
काठमाडौं, साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको दावी गरेका छन् ।
राणाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।
अध्यक्ष राणाले आईतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।
उनले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे । भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेकाले त्यसको विरोधमा आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
बैठकमा पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्