नेकपाको सचिवालय बैठक आज बस्दै, पूर्व माओवादीहरु छलफल
काठमाडौैं, ५, असार । पार्टीको सांगठनिक जिम्मेवारीका विषयमा टुंगो लगाउन नेकपा सचिवालय बैठक आज बस्दै छ । जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउने कुरमा छलफल हुने छ ।
यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको प्रचण्ड निकट स्रोतले बतायो ।
पूर्वमाओवादीले पाएका विभागहरुमध्ये अर्थ र प्रचारको जिम्मेवारी कुन नेताले पाउने भन्ने विषय गम्भिर छ । पार्टीको प्रवक्तासमेत भएकाले प्रचारको जिम्मा नारायणकाजी श्रेष्ठले पाउन सक्ने चर्चा छ । यद्यपि नारायणकाजीको नाम स्कुलिङ विभागमासमेत आए पनि त्यसमा पूर्वएमालेका ईश्वर पोखरेलले दाबी गर्दै आएका छन् ।
यसअघि पूर्व एमालेका नेताहरु पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए । पूर्वएमालेको भागमा परेको संगठन विभागको जिम्मा वामदेव गौतमलाई र विदेश विभागको जिम्मा माधव नेपाललाई दिने लगभग टुंगो लागिसकेको नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्