विप्लवसँग वार्ता गरेको भएपनि औपचारिकता पाउन सकेको छैनः वार्ता टोली

काठमाडौं, साउन २ । विप्लवसंग आफुहरुले वार्ता गरेको भएपनि यसले औपचारिकता पाउन नसकेको राजनीतिक वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डेले बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन्।

नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसंग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे।

संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ। सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो ।


यसैबचि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक परिर्वतन पछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शिर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए।
समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह गरे ।

विप्लवसंग सरकारले वार्ता गरेपनि यसको ठोस परिणाम आउन भने सकेको छैन् । यसले अझै औपचारिकता पाउन भने सकेको छैन ।

सरकारले वार्ताका लागि आउन आह्वान गरे पनि विप्लवले कुनै चासो देखाएको छैन । सरकारलाई वार्ता माफर्त समस्याको समाधान खोज्न राजनीतिकदलका नेताले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्