सरकारलाई निर्वाचन आयोगको प्रस्ताव, राष्ट्रियसभा निर्वाचन माघको अन्तिम साता

काठमाडौं  । निर्वाचन आयोगले सरकारलाई राष्ट्रियसभा निर्वाचनका लागि माघको अन्तिम साता मिति तोक्न उपयुक्त हुने सुझाव दिएको छ।

राष्ट्रियसभा निर्वाचन अध्यादेश पारित भएसँगै राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले चुनावको मिति माघ २५ गते तोक्न उपयुक्त हुने धारणा राखेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

निर्वाचन आयोगले पुस १३ मा राष्ट्रियसभा निर्वाचनका लागि भन्दै १५ दिनभित्र दल दर्ताका लागि सार्वजनिक आह्वान गरेको थियो।

दल दर्ता लगायतका अन्य निर्वाचन प्रक्रिया पूरा गर्न माघको तेस्रो साता लाग्ने भएकाले अन्तिम साता मात्र निर्वाचन गर्न सम्भव हुने धारणा आयोग पदाधिकारीको छ।

राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट गर्न नमिल्ने आयोगले बताउँदै आएको छ।

निर्वाचनको मतपरिणाम सार्वजनिक नहुदाँ नयाँ सरकार गठनमा ढिलाइ भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनपछि मात्र नयाँ सरकार गठनकालागि मार्ग प्रशस्त गर्ने बताउँदै आएका छन्।

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा प्रदेश प्रमुख नियुक्तिका विषयमा छलफल गर्न सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्