मन्त्री पण्डितको राजीनामा माग

काठमाडौं, असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो।

‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’ लगायतका प्लेकार्ड बोकेका उनीहरूले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए।

लोकसेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ।

प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरूले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्