काँग्रेसका संघीय सांसदले ५ दिनको तलब बाढी पहिरो पीडितलाई दिने

काठमाडौं, ३० असर । नेपाली काँग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहतस्वरुप पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा ६३ सांसद भने राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद छन् ।

यसै काँग्रेसले सर्लाही जिल्लामा भएका विभिन्न हिंसात्मक घटनामा सरकारले विधिको शासन पद्धतिको अपहेलना र मानवअधिकारको उल्लङ्घनका साथै नागरिक अधिकार एवं नागरिकको बाँच्न पाउने हकको रक्षा नगरेको भन्दै काँग्रेस र राष्ट्रिय जनता पार्टीले संघीय संसदमा संसदीय छानविन समिति बनाउन माग गर्दा सत्तापक्षले गम्भीर भई छानविन समिति बनाउन तयार नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीले यस्ता मानव अधिकार, नागरिक अधिकार र जनसरोकारसँग सम्बन्धित गम्भीर विषयका माग पुरा गराउन संसद अवरोध जस्तो गम्भिर कुरा गर्न वाध्य हुनपरेको कुरा समेत उल्लेख गरेको छ ।

विपद व्यवस्थापन, उद्धार राहत र पुर्नस्थापना सम्बन्धि विषयमा संसदमा गम्भीर छलफल गर्न काँग्रेस तथा राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ को उपनियम ९१० बमोजिम बाढी पहिरो सँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सोमबारको बैठकका अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नभएको काँग्रेस संसदीय दलको ठहर गरेको छ ।

‘सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’ प्रमुख सचेतक खाणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै काँग्रेस संसदीय दलले राष्ट्रिय विपदको दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आह्वान समेत गरेको छ । काँग्रेसले जनताको लागि दैनिक जिविकोपार्जन गर्न कठिन भन्दा कठिन हुँदैजाँदा सरकार नागरीकप्रति गम्भिर नभएको कुरा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्