सुझाव समेट्ने शर्तमा भयो कांग्रेसको नियमावली पारित
काठमाडौँ , असार ३० । आएका सुझावलाई समेट्ने शर्तमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली पारित गरेको छ ।
आइतबार रातिसम्म बसेको बैठकले संस्थापन इतरका नेताले राखेको सुझावलाई समेट्ने गरी नियमावलीलाई स्वीकृत गरेको हो । नेता रमेश लेखक नेतृत्वको नियमावली मस्यौदा समितिले असार २२ गते छलफलका लागि बैठकमा पेश गरेको थियो ।
शुक्रबार र आइतबार भएको छलफलमा नेताहरुले नियमावलीमा प्रस्ताव गरिएको पार्टीलाई क्याडर वेसमा लैजाने, नियमित लेवी उठाउने, भातृ संस्थाहरुलाई नियन्त्रण गर्ने, पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक रुपमा बोल्नेलाई अनुशासनको कारबाही गर्ने जस्ता प्रावधानको संस्थापन इतरका नेताहरुले विरोध गरेका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार सभपाति शेरबहादुर देउवा निकटका नेताहरुले भने नियमावलीको मस्यौदा जस्ताको त्यस्तै पारित हुनुपर्ने धारणा राखेका थिए ।
तर, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पक्षको असहमतिका बाबजुद नियमावलीमा आएका सुझाव समेट्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
आइतबार नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी., बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, सुजाता कोइरालालगायतका नेताहरुले बोलेका थिए ।
संस्थापन पक्षबाहेकका नेताहरुले १४औं महाधिवेशनको कार्यतालिका पेश गर्न माग गरेका थिए । नियमित प्रक्रियामा आउँदो फागुनमा महाधिवेशन हुनुपर्ने भए पनि सभापति देउवा पक्षधर नेताहरु एक वर्ष कार्यकाल लम्ब्याउने पक्षमा देखिएका छन् ।
देशमा आएको बाढी, पहिरो र डुबानका कारण कांग्रेसले साउन ७ गतेसम्मका लागि बैठक स्थगित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले कार्यकर्तालाई राहत उद्धारमा खट्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्