बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो, स्थानीय सरकार मार्फत नै राहत वितरण गरिने

काठमाडौं, असार २८ । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३र३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी ३० जनाको ज्यान गएको हो ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १र१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

यसैबचि सरकारले अबिरल बर्षासंगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरि प्रदेश सरकारसंग समन्वयन गरि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।


गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरि स्थानीय सरकारबाटै राहत वितरण गर्ने व्यवस्था मिलाउदै तत्काल उपलब्ध ड्राईफुडहरु वितरण गर्न निर्देशन जारी गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए ।


उनले परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल गरेपछि अहिले भारतीय सिमानाकाको बाँधका ढोका खोलिएकाले रौतहटको गौरमा पानीको सहत कम हुदै गएको जानकारी पनि दिए ।


सरकारले बर्षा नरोकिए अझै ठुलो क्षति पुग्न सक्ने तर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ ।


बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिए ।


जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकोप्टर भने मौसम प्रतिकुल भएका कारण इटहरी तर्फ नै फर्किएको उनले जानकारी दिए ।


वर्षासँगै कमला नदीको तटबन्धमा ढोका नलगाएका कारण खोला छिर्दा सिरहामा डुबान भएको, रौतहटको गौरमा भने भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले र बागमतिको बाँधलाई नाघेर पानीको सतह माथि आएकाले सर्लाहीमा डुबान भएको निष्कर्ष मन्त्रालयले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्