कांग्रेसमाथि सरकारका प्रवक्ताको प्रश्नः दिनभर बीपी, रातभर विप्लव ?

काठमाडौं, असार २६ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेससँग विप्लव समूहबारे धारणा माग गरेका हुन् । उनको प्रश्न थियो, “ हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?“

मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको बताएका थिए । संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे ।

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो ।

त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्