प्रधानमन्त्रीलाई नेविसंघले पठायो ‘विषादीयुक्त तरकारी’ उपहार
काठमाडौं , असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री ओलीलाई उक्त तरकारी पठाएको हो ।
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
सोही कार्यक्रमअनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिए ।
मंगलबार देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
यसैबिच यसको विरोधमा सरकारको आलोचना भइरहेको छ । विषादियुक्त तरकारीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्ने हुदा यसमा सरकार संवेदनशिल हुनु पर्ने हो तर लिएको निर्णय पनि फिर्ता लिदा जनतामा पनि निराशपन छाएको छ ।
भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त फलफूल तथा तरकारी पठाएको हो ।
सरकारी निर्णयको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले पूर्व्निर्धा्रित कार्यक्रमअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विषादीयुक्त तरकारी तथा फलफूल प्रधानमन्त्री ओलीलाई उपहार पठाएको हो ।
सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।
यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ ।
सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्