माओवादी केन्द्रको बैठक सम्पन्न, ‘पार्टी एकता आश्चर्य जनक रुपमा हुन्छ’

ललितपुर, १८ पुस । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ ।
पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो । उनले भने,‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो ।’
बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहनुभएको छ ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।
बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्