काँग्रेस हारेपनि बिपी विचारको जित : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन् ।
नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताएका हुन् ।
बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उनले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताए ।
काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उनले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए । बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताए ।
सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताए । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उनले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताए ।
प्रजातन्त्रमा सबैको जित हुने भन्दै उनले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताए । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले बताए ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद सावित्री बोगटी पाठक, पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्