सरकारविरुद्ध भैरहेका आक्रमण र अप्ठ्यारा परिस्थितिलाई चिर्दै अघि बढ्छौँः अध्यक्ष प्रचण्ड

काठमाण्डौ , असार २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले सरकारविरुद्ध भैरहेका आक्रमण र अप्ठ्यारा परिस्थितिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्

सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रम पुनर्मिलन समारोह भएको प्रचण्डले बताएका छन् ।
अध्यक्ष दाहालले भने, ‘यो कुनै नयाँ र अनौठो अनुभूति होइन, पहिले अलग अलग हिँडेर उहाँहरु फेरि हामीसँग जोडिन आउनुभएको हो ।’ पार्टी प्रवेश गर्ने कोही पनि नयाँ नभएको र के(कस्ता होलान् भनेर चिन्ता लिनु नपर्ने उनले बताए ।

अध्यक्ष दाहालले नेकपा अहिले नेपाली इतिहास र राजनीतिको ऐतिहासिक क्षणमा रहेको धारणा राखे ।

‘नेपाली जनताले हाम्रो पार्टीलाई विश्वास गरेर देश विकास, आर्थिक समृद्धि र राष्ट्रिय एकताको पहरेदारी गर्न चुनेका हुन् । यो प्रतिक्रियावादीहरुलाई मन परेको छैन,’ उनले भने ।


पार्टी प्रवेश गर्नेमा विभिन्न जिल्ला संयोजक, पार्टी सदस्य, सक्रिय पार्टी कार्यकर्ता, वाईसीएल जिल्ला सदस्यलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्