अल्पायुमै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व छ : प्रचण्ड

काठमाण्डौ , असार १७ । नेकपाका अध्यक्ष प्रचण्डले अल्पायुमा नै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व रहेको बताएका छन् ।

उनले ३६ वर्षको छोटो उमेरमा नै आकस्मिक निधनले परिवार ,पार्टी र सिंंगो देश नै स्तब्ध भए पनि छोटो समयावधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व रहेको टिप्पणी गरे ।

३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रकाशको योगदानलाई स्मरण गरेका हुन् ।

उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तीतामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको बताए ।

यसैगरि कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासँग जोडिएका कथा ब्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताईन् ।

उनले श्रीमान प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्रको पनि स्मरण गरिन् ।


कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ रेहेका छन् ।

यसैबिच विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् ।

उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए ।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्