नेता रावलको प्रश्न- कर्णालीमा अस्पताल छैन, भारतीय फिल्म अवार्ड (आइफा) लाई १ अर्ब किन?
काठमाडौं, असार १५ । सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्ब छुट्याउनु आपत्तिजनक भएको नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले बताएका छन् ।
आइतबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको बताए ।
साथै उनले कर्णालीमा अस्पताल छैन , भारतीय फिल्म अवार्ड आइफा लाई १ अरब किन चाहियो भनि प्रश्न समेत गरे ।
उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने धारणा राखे ।
नेता रावलले नेपालमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाए ।
नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क समेत गरे ।
सरकारले उक्त फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाण्डौमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाएका हुन् ।
त्यस्तै नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्