राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु, उद्घाटन गदै प्रधानमन्त्रीले भने – हिजोका शासकले गरीबी र बेरोजगारी अन्त्य गरेनन्, अब म गर्छु

काठमाडौं, असार १५ । स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०७६ शुरु गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

यसैबिच प्रधानमन्त्री केपीशर्मा ओलीले भावी सन्ततीलाई गरीबी र बेरोजगारी हस्तान्तरण नगर्ने बताएका छन् ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हिजो शासन सत्ता चलाउनेले गरीबी मात्रै अन्त्य गरिदिएको भए आज आफू आधुनिकीकरणबाट अघि बढिरहेका हुने दाबी गरे ।

उनले भने, अब आफ्नो कार्यकाल सकिने बेलासम्म गरीबी र बेरोजगारीको यो परिस्थीतिको अन्त्य गरेर, छोरा छोरी र नातीनातिनीलाई समृद्ध नेपाल हस्तान्तरण गर्नेछु ।‘ उनले नेपाली इमान्दार भएकाले विदेशीले खोज्ने गरेको समेत बताए।

नेपालीहरु श्रम गर्न नहिच्किचाउने र इमान्दार भएकाले विदेशीले नेपाली कामदार खोज्छन् । तर नेपालमा विकास निर्माणका लागिकामदार पाइदैनन् । तरपनि नेपालीहरु बेरोजगार छन् ।ओलीले भने, रोजगारका अवसर मात्रै भएर हुँदैन । अवसर आकर्षक पनि हुनुपर्छ । नत्र जता आकर्षक हुन्छ उतै जान्छन् ।

उनले शैक्षिक स्तरको प्रमाणपत्र समस्या नभइ समाधान हुनुपर्ने बताउँदै सरकारले शिक्षालाई जीवनउपयोगी शिक्षा नामाकरण गरेको तर्क गरे । कुल जनसंख्याको दुई तिहाई जनसंख्या कृषिमा लागेको र उनीहरुले गर्ने परम्परागत कृषि समस्या भएको ओलीले बताए ।

सानो सानो स्केलमा कृषि गर्छन् । करेला उत्पादन गर्छन् । आफुले खाएर सकिदैन, बचारमा बेचिदैन । यसले गर्दा समस्या भयो उनले भने ।

टमाटर दुध सडकमा पोखेको उदाहरण दिँदै उनले भने ठूलो स्केलमा कृषि गरे समस्या नआउने बताए।उनले जग्गा बाँझो हुने र युवा बेरोजगार हुने समस्या रहेको बताए ।

आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम् र सिर्जनात्मक पाटा उजागार गरी यस क्षेत्रको विकासबाटै गतिशील अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनको पहिलो दिन आज श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकनका पक्ष, श्रम आप्रवासन तथा विदेशबाट फर्किएका युवाको पुनः एकीकरण र कामको भविश्यका सम्बन्धमा यस क्षेत्रका जानकारले प्रस्तुत गर्ने कार्यपत्रमा सम्बन्धित विज्ञले टिप्पणी गर्ने भएका छन् ।

सोमबार नेपाली श्रम बजार र आय स्थितिको सिंहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता, राष्ट्रिय अर्थतन्त्र र रोजगारीका लागि सीप विकास विषयमा सामूहिक छलफल हुनेछ ।

सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ । सो सम्मेलनले आन्तरिक रोजगारी सिर्जनाका उपाय पहिचान गरी नीतिगत सुधार तथा कार्यान्वयनको पक्ष सुदृढीकरणका लागि साझा धारणा तयार गर्ने भएको छ ।

सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्