सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन्।
नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिमा पार्टी नभई देश प्रमुख हुने बताएका हुन्।
‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ, एउटै भाषा बोल्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘एकै ठाउँमा सबै दलहरु उभिएर देशको हित सोच्न जरुरी छ। सरकारले एकलौटी काम गर्दैन।’
नेपालको परराष्ट्र नीतिलाई सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले भारतसँग बेला–बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको बताए।
नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने उनको भनाइ थियो।
दुई छिमेकी देशहरु भारत र चीनका बीचमा समान सम्बन्ध राखेर नेपालको परराष्ट्र नीति अघि बढ्ने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्