सरकारले अत्याधिक कर बढाएर जनतालाई सास्ती दियो : सभापति देउवा

काठमाडौं, असार १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताएका हुन् ।

उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे ।

उनले राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।

सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत समेत गरेका छन् ।

उनले जनताको इच्छाविपरित कर निर्धारण गर्न नहुनेमा पनि जोड दिएका छन् ।

पछिल्लो समय सरकारले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम गरेको जनताले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्