मोेरङबाट ‘विप्लव’ समूहका दुई नेता हतियार र गोलीसहित पक्राउ

काठमाडौं, असार १० । ‘विप्लव’ समूहका दुई नेता हतियार र गोलीसहित पक्राउ परेका छन् । उनीहरुलाई हतियार र गोलीसहित मोरङ प्रहरीले मोरङको बेलबारी नगरपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद भएको प्रहरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

सुन्दरहरैंचामा नगरपालिकाका ब्यवसायीसंग चन्दा असुल्न को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो । तथापि प्रहरीले व्यापारीको नाम र ठेगाना गोप्य राखेको छ।

दुवैजनालाई ब्यापारीसँग चन्दा वापत माग गरिएको ५१ लाख रुपैयाँ उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिकाका ३४ वर्षीय कंश धिमाल रहेकाछन्।

पक्राउ परेका मध्ये राई ‘विप्लव’ समूहका मोरङ जिल्ला जनपरिषद् प्रमुख र धिमाल कार्यकर्ता हुन्।

प्रहरीका अनुसार, ‘विप्लव’ समूहले व्यापारीसँग केही समय अघि ७ लाख रुपैयाँ चन्दा लिएर गएको र पछिल्लो समय ५१ लाख रुपैयाँ माग गरेको थिए।

पक्राउ परेका मध्ये कंश २०६६ सालमा मोरङको उर्लाबारी मंगलबारेस्थित थापा सुनचाँदी पसल र झापाको दमकस्थित लक्ष्मी बैंक लुटपाट घटनामा चलाइएको डाँका मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। हतियार चलाउन जान्ने उनलाई पछिल्लो समय ‘विप्लव’ समूहले सुटरका रुपमा प्रयोग गरिरहेको पाइएको छ।

‘हतियार देखाएर डर त्रास उत्पन्न गराउँदै ‘विप्लव’ समूहका व्यक्तिले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट चन्दा संकलन गर्न खोजिरहेको भन्ने विशेष सूचना आएको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘खोजतलास गर्न खटिएको प्रहरी टोलीले दुवै जनालाई आइतबार साँझ पक्राउ गरेको हो।’

त्यस्तै पक्राउ परेका दुवै जनाले दिएको जानकारीका आधारमा उर्लाबारी नगरपालिका सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल पनि सोमबार तीन नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उनी पनि ‘विप्लव’ समूहमा आवद्ध भएको आशंका गरिएको छ।

प्रहरीले धिमालको घरमा तीनवटा भरुवा बन्दुक, बारुद, छर्रा, नटबोल्ट, वासर लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु विरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजना कसूरमा मुद्दा चलाउन सोमबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।

पछिल्लो समय विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम बढेके छ । प्रहरीले उनीहरुलाई विभिन्न क्षेत्रबाट धमाधम समातिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्