प्रदेश नं १ को नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

काठमाडौं, असार ८ । प्रदेश नं १ को नाम अन्तिम चरणमा रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

मुख्यमन्त्री राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङ्ग्याउने बताएका हुन् । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उनले भने, ‘‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ ।

प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’


कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश नं १ सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईले बताए ।

अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्