दुई तिहाई बहुमतको दम्भ नदेखाउन सरकारलाई डा. भट्टराईको सुझाव

काठमाण्डौ , असार ६ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो हुने तर्फ सचेत बन्न आग्रह गरे ।

उनले भने , ’फलेको हाँगो झुक्छ । तपाईंहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसकारण तपाईंहरुले दम्भको प्रर्दशन गर्ने होइन । मतादेश दिगो नहुन पनि सक्छ । छिमेकी पश्चिम बंगालमा ३४ वर्षसम्म वामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरणलाई बिर्सन हुँदैन ।’

’त्यस्तै ७० बर्षसम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको तर अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाह्रो भैरहेको छ । विनम्रतापूर्वक आग्रह छ, दम्भ त्यागौँ र झुकौँ । र अरुको कुरा सुनौ । ’नलेज स्पिक्स, विज्डम लिसन्स’ । ज्ञान बोल्छ, बुद्धि सुन्छ,’ उनले भने ।

भट्टराईले सरकारका पछिल्ला कदमले सरकार केन्द्रिकरणतर्फ जान लागेको संकेत दिएको टिप्पणी समेत गरेका छन् ।

गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रदर्शनलाई सांकेतिक ढंगले बुझेर संविधानविपरीत ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायतविधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे ।

पछिल्लो समय सरकारको गतिबिध कमजोर भएको उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस्