महन्थ ठाकुरको आरोप:सरकारले कानुनमार्फत मधेसी जनताको अधिकार कटौति गर्न लाग्यो

काठमाण्डौ , असार ५ । राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकारले कानुनमार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो आरोप लागाएका हुन् ।


कानुनी रुपमा नै अधिकार कटौतिको प्रयासमा सरकार लागेको उनले बताए । ‘यो संविधानले एउटा विभाजन सृजना गरेको छ । राज्य र विभिन्न समुदाय एकअर्काप्रति संशकित छन् उनले भने ।


उनले भने यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ लाल बत्ती बल्नासाथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुन द्वारा लाल बत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ जसले जनताको अधिकार कटौति गर्ने अवस्था बनाइरहेको छ ।’


उनले केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगाएको आरोप पनि लगाए । बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको दावी उनले गरे ।

उनले भने , ’यहाँ नाकाबन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कहिले कसैले बोलेको छ ? उसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन । शासन प्रशासनमा कति छ ? यो नाकाबन्दी होइन मधेसको? मधेस नेपालको आन्तरिक उपनिवेशको रुप छ । मधेस खुला जेल जस्तै छ, यहाँ सबै बन्दी छन् ।’

मधेसलाई अहिले पनि विभेद कायमै रहेको भन्दै उहाँले विभेद कायम रहेसम्म आफूहरुको विरोध जारी रहने बताए ।

संसदबाट त्रुटि हुँदा विश्वमा तानाशाहहरु उत्पन्न भएको सन्दर्भ उल्लेख गर्दे उनले आफूहरु पनि तानाशाहहरु उत्पन्न हुने हुन् कि भनेर आशंकित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्