ओली–प्रचण्डबीच बालुवाटारमा दुईघण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौँ , असार ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।


पार्टी एकतामा भइरहेको विलम्ब, सरकारका कामकारवाही र त्यसलाई लिएर उत्पन्न पछिल्ला विवादहरुबारे अध्यक्षद्वय बीच बुधबार झण्डै दुई घण्टा छलफल भएको हो ।

छलफलका लागि ओलीले दाहाललाई आफ्नै निवास बालुवाटारमा बोलाएका थिए। प्रधानमन्त्री समेत रहेका ओलीको ९ दिने युरोप भ्रमणले पार्टी एकता प्रक्रिया रोकिएको थियो भने उनी स्वदेश फर्किएपछि पनि सरकारका कामकारवाहीलाई लिएर उत्पन्न विवादको संवोधनमा लागेका छन् ।

सरकारप्रति पोखिन थालेको असन्तुष्टीबारे खुलेर अभिव्यक्ति नदिएका प्रचण्ड र ओलीबीचको बुधबारको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ।

पार्टीका एक शीर्ष नेताका अनुसार ओली र दाहाल आन्तरिक विवाद समाधानका लागि सचिवालय र स्थायी समितिको बैठक नै बोलाउनु पर्ने निष्कर्षमा पुगेका छन् ।

तीन नेताले पार्टी एकता प्रक्रियालाई गति दिन दाहालले ओलीलाई दबाब दिएको दाबी समेत गरे।

माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका थिए ।


प्रधानमन्त्री विदेश भ्रमण तथा व्यस्त कार्यतालिकाका कारण लामो समयदेखि पार्टीको बैठक बस्न सकिरहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्