सातै प्रदेशका डीआईजीलाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन गृहमन्त्री निर्देशन
काठमाडौं , असार ३ । सातै प्रदेशका डीआईजीलाई विप्लव समुहको गतिविधि नियन्त्रणमा लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् ।
मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई बादलले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिएका हुन् ।
नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा राख्न भनेका छन् ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार बादलले प्रहरी प्रमुखहरुलाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।
बादलले प्रदेश अनुसार फरकफरक समस्या र विशिष्टता रहेको उल्लेख गर्दै सोही अनुसार काम गर्न पनि निर्देशन दिए ।
उनले तस्करीको नयाँ रुट खुलेको सुनिएको बताउँदै भने, ‘कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गर्छन् । सचेत रहनुस् ।’
तीन दिनअघि प्रदेश १ मा ठाकुरप्रसाद ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्