कांग्रेसका युवा नेताद्वारा महासमिति बैठक बोलाउन माग
काठमाडौं । कांग्रेसका सात युवा नेताले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन पार्टी नेतृत्वसंँग आग्रह गरेका छन् । विशेष महाधिवेशन माग गर्दै आएका उनीहरूले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि महासमिति र केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे छन् । युवा नेताले पार्टी नेतृत्वले रणनीतिक योजना र कार्यक्रम लैजान नसक्दा पार्टी कमजोर हुन पुगेको निष्कर्ष निकालेका छन् । उनीहरूले निर्वाचनको सम्भावित परिणामबारे पूर्वआभास हुँदाहुँदै पनि नेतृत्व सचेत हुन नसक्दा यस्तो परिणाम आएको बताएका छन् ।
‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन ? निर्वाचन दौरानमा प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पेचिला प्रश्नको जवाफ खोज्नका लागि पनि तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन आवश्यक छ ।’ कान्तिपुरले लेखेको छ ।
युवा नेताहरूले पार्टीभित्र आपसी द्वेष, गुटगत भावना, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुदृढ र आधुनिक कांग्रेसको बलियो आधारशिला खडा गर्न सबैले संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्ने छौं’ युवा नेताहरूले भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउने छौं ।’
प्रतिक्रिया दिनुहोस्