गृहमन्त्री थापा भन्छन्- पाँच वर्षमा १८ प्रतिशत गरीबीलाई शून्यमा झार्छौं

कठमाडौं, जेठ ३१ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए ।

यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उहाँले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, “कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।”

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।

बेरोजगार युवालाई रोजगार दिने र कामको अभाव भएका उद्योगमा दक्ष कामदार उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो ।

सो मेलामा काठमाडौँसहित विभिन्न जिल्लाका रोजगारदाताको सहभागिता छ । वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्तिविकाससम्बन्धी परामर्श सेवा तथा जनकारी दिइने, सीपमूलक तालीम दिने संस्थाको प्रदर्शनी तथा तालीमबारे जानकारी दिइने प्रमुख वनले बताए ।

मेलामा रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने आधारभूत सीपमूलक तालीमको बारेमा जानकारी गराइने, रोजगारको अवसर प्रदान गरिने र स्थानीय उत्पादनको प्रदर्शन गरेको छ ।

रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको सो कार्यक्रममा दुई हजार ५०० देखि तीन हजार युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलाबाट एक हजार ५०० जनाले वृत्ति परामर्श सेवा लिनेछन् ।

परामर्श लिएकामध्ये १५० देखि २०० जनाले रोजगारी प्राप्त गर्ने लक्ष्य लिइएको छ । वनले रत्ननगर आसपासका क्षेत्रमा तत्कालका लागि ६०० जनाभन्दा बढी कामदारको खोजी भइरहेको छ । मेलामा रोजगार दाताका ३० वटा प्रदर्शनी कक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्