केपी ओलीको चेतावनी–जनमतविरुद्धको षडयन्त्र सैह्य हुनेछैन,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

“जनताहरुले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन,”उनले भनेका छन्, “त्यसकारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुनेछ ।”

उनले गठबन्धनले बहुमत ल्याए पनि वर्तमान सरकार अझै सत्ता लम्ब्याउने रणनीतिमा लागेको बताए ।

“निर्वाचनमार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र  देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ,” उनले सन्देशमा भनेका छन्, “देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ त्यो हामीलाई सैह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं ।”

सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

“खासगरी संविधान कार्यान्वयनको मुल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए । जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन् । यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौंदेखि प्रतिक्षा गरेको विकास र समृद्धि सपना अब प्राप्ती हुने मार्गतिर हामी डोरिएका छौं । सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भए,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्