लोकसेवाको विज्ञापनबारे अध्यक्ष प्रचण्ड भन्छन् – आत्तिनु पर्दैन प्रधानमन्त्री आएपछि निर्णय गर्छौं

काठमाडौं , जेठ २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘समितिले एक ढंगले निर्देशन र्गयो ।

सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’
उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन् ।

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याउनेतिर जान्छ ।’


लोकसेवामा आवेदन दिने क्रम रोकिएन


यता संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिने क्रम चलिरहेको छ ।

सरकार र आयोगले रद्द गर्ने निर्णय नगरेकाले आवेदन नरोकिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

मंगलबार मात्रै देशभरबाट झण्डै आठ हजार जनाले विभिन्न पदका लागि आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि अहिलेसम्म झण्डै ८७ हजार जनाले आवेदन दिएका छन् ।

संसदीय समितिले निर्देशन दिए पनि आयोगको बैठकले थप निर्णय नगरेकाले आवेदन प्रक्रिया नरोकिएको सुवेदीले स्पष्ट पार्नुभयो । उहाँका अनुसार यदि विज्ञापन रोक्ने निर्णय भएमा आवेदकले बुझाएको शुल्क फिर्ता हुनेछ ।

‘आयोगको बैठकले थप निर्णय नगर्दासम्म आवेदन लिने क्रम चलिरहन्छ, यदि रद्द गर्ने निर्णय भयो भने आवेदकले बुझाएको शुल्क फिर्ता हुन्छ’ उनले भने

प्रतिक्रिया दिनुहोस्