गुठी विधेयको प्रदर्शनमा भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ : गृहमन्त्री थापा

काठमाडौं, जेठ २८ । गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा गुठीसम्बन्धी विधेयकको विरोधमा केही दिनअघि भएको प्रदर्शनमा भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् ।

उनले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकार वा प्रदर्शनकारीको तर्फबाट भएको कमी कमजोरी छानविन भइरहेको जानकारी दिए ।

नेपाली कांग्रेसलगायत विपक्षी सांसदले संसद बैठकमा विरोध जनाएपछि मन्त्री थापाले घटनाका बारेमा जानकारी दिएका हुन् । उनले भने, ‘शान्तिपूर्ण जुलुस प्रदर्शन गर्न नपाउने भन्ने कुरा होइन । तथ्यहरुले त्यो कुरालाई साबित गर्दैन ।’

उनले सरकारविरुद्ध दिनदिनै जुलुस प्रदर्शन भइरहेको भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सरकारले नखोस्ने प्रष्ट पारे । उनले लोकतन्त्र रक्षाका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले माइतीघर मण्डलामा भएको घटनामा प्रहरीले सामान्य बल प्रयोग गरेको जिकिर गरे । ‘प्रदर्शनकारीबाट पनि बल प्रयोग भएको छ, प्रहरीहरु घाइते भएका छन,’ उनले भने, ‘सुरक्षाकर्मीलाई ढुंगा हान्ने, मुख क्षतविक्षत गर्ने काम लोकतान्त्रिक अधिकार होइन ।’

घटनाका बारेमा राज्यले आवश्यक छानविन गर्ने र दोषीमाथि कारवाही गरिने बताए ।
माइतीघर मण्डलामा गुठीसम्बन्धी विधेयकको विरोधमा प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्