‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भयो’, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजियो’: सभापति देउवा

काठमाडौं , जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएक छन् ।

सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आएका देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने दाबि पनि गरेका छन् ।


यस्तै मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने उनले दोर्होयाए । गोरखा सदरमुकाममा भएको नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको बताए ।

‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, सभापति देउवाले भने, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’
नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभै राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उनको भनाइ छ । देउवाले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाए

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बूढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्नेमा जोड दिए ।

सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चनुभएका शर्माले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्