मन्त्री विश्वकर्मा भन्छन्- भ्रष्टाचार गरेका पदाधिकारीलाई कारबाही गर्नसक्ने कानुनी व्यवस्था आवश्यक छ

काठमाण्डौ , जेठ २६ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्बहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यसरी भ्रष्टाचार गरेकाहरुलाई पनि परिष्दमा पुनर्बहाली गर्न नहुनेमा उनले जोड दिएका छन् ।

मन्त्री विश्वकर्माले गम्भीर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्बहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उनले अदालतले पुनर्बहाली गर्न नसक्ने गरी भ्रष्टाचार लगायतका गलत काम गर्ने परिषदका पदाधिकारीलाई कारबाही गर्न सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक सुझाव दिन पनि राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गरे ।


बैठकमा समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले राष्ट्रिय खेलकुद परिषदमाथि नियन्त्रण गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका थिए ।

उनले अधिनायकवादको आरोप लागेको सरकारले राष्ट्रिय खेलकुद परिषदलाई पनि नियन्त्रण गर्नेगरी विधेयक ल्याएको आरोप लगाए ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले खेलकुद क्षेत्रमा काम गर्न सक्नेहरुलाई मात्रै राष्ट्रिय खेलकुद परिषदमा नियुक्ति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले खेलकुदसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी नियुक्ति गर्दा उमेर हद नराख्न पनि सरकारलाई सुझाव दिए ।

समितिका सदस्यहरुले ऐन, कानुनद्धारा निर्दे्शित हुने सरकारी निकायलाई मन्त्रीहरुले ठाडो निर्देशन गर्न नमिल्ने दावी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्