कैलाली हावाहुरी पीडितः राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह, घटनाप्रति दुःख प्रकट
काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कैलाली र कन्चनपुरमा हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत् बिहीबार साँझ कैलाली र कन्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गरेका हुन् ।
पार्टीले सन्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेस राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भएपनि कैलाली र कन्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको जनाइएको छ ।
हावाहुरीका कारण दुईजनाको मृत्यु र १०० भन्दा बढी व्यक्ति घाइते, अंगभंग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति कांग्रेसले दुःख प्रकट गरेको छ ।
प्राकृतिक विपद्का कारण अकालमै निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति कांग्रेसले समवेदना प्रकटसमेत गरेको छ ।
कांग्रेसले विपद्मा परी घाइते भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्