राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखि शुरु, हिन्दुराष्ट्र बनाएरै छाड्ने थापाको उद्घोष
कठमाडौं, जेठ २४ । राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखि मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको हो ।
मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी,बागलुङ ,पर्वत, कास्की,लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
धार्मिक अनुष्ठानपछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए ।
आजै मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरबशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए ।
सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने उनले बताए । सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुक दर्शक भएर टुलुटुलु हेरिरहन नसकिने विचार व्यक्त गरे ।
बेनि(जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गरे । भ्रष्टाचार र कुशासन मौलाएको प्रति उनको तिव्र रोष थियो । मुलुकमा राप्रपाले बोकेको बिचारले मात्र निकास दिन सक्ने भन्दै उनले राष्ट्रवादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासीको सहयोग मागे ।
सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म,आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दाबी गरे । सबैको अभिभावकीय भूमिका खेल्नको निमित्त ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र आवश्यक भएको विचार उनले व्यक्त गरे । उनले दिप प्रज्वलन गरेर स्वाभिमान यात्रालाई शुभकामना दिए ।
कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता ,धर्म संस्कृति र पहिचानमाथि चौतर्फी हमला भइरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए । सो अवसरमा नेताहरु भिमप्रसाद गौचन, हेमजङ्ग गुरुङ लगायतले हिन्दुराष्ट्रको आवश्यकताको चर्चा गरेका थिए ।
अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिमप्रसाद गौचन, तोरण गुरुङ , हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्