नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि चाँडै नै सडकमा उत्रिने अध्यक्ष जबराको चेतावनी : भने – विदेशी सहयोग चाहिँदैन ’

काठमाण्डौ , जेठ २२ । नेपाललाई हिन्दू राष्ट्र बनाउनका चाँडै नै सडक संघर्षमा उत्रिने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताएका छन् ।

उनले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारेका छन् । राणाले थप्नुभयो, ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेको बताए । उनले भने , ‘नेपाललाई विदेशीको इशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौँ ।’

अध्यक्ष राणाले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दू राष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए ।

शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढी समय व्यतित भइसक्दा पनि अहिलेसम्म नागरिकले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ । उनले, ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ती आयो हात्ती फुस्साजस्तै छ ।’

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । उनले भने , ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा बिमस्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाइएको र नेपालका प्रधानमन्त्री ओली पनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिए ।

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि राणाले सुनाउदै उनले भने , ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’

अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको पनि बताए, ‘उनले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, नेकपाले चुनावमा भारी बहुमत हासिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।’

प्रतिक्रिया दिनुहोस्