सरकारले चन्द समूहसँग गम्भीर भएर वार्ता गर्नुपर्छ : गच्छदार
काठमाडौं, जेठ २१ । कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारले नेत्रविक्रम चन्द समूहसँग अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा मंगलबार पत्रकासँग गच्छदारले यस्तो बताएका हुन् । उनले चन्द समूह पनि वार्तामा आएर समस्याको समाधान गर्नुपर्ने बताए ।
लामो संघर्षपछि जारी भएको संविधानमा मुलुकका अनेकौं सहिद र नेताहरुको सपना साकार भएको बताउदै उनले भने सहिद र नेताहरुको सपनालाई साकार पार्न सरकार र माओवादी दुवैले गम्भीर भएर वार्ता गर्नुको विकल्प नभएको बताए ।
चन्द आफैंपनि सशस्त्र संघर्ष गरेर ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । ‘नेत्रविक्रम जीको असन्तुष्टी संविधान संशोधन गरेर हुन्छ भने त्यो गर्न कुनै आपतिको विषय होइन,’ उनले भने, ‘अहिलेको संविधान जारी भएको तीन महिनामा नै संशोधन भएकोले पूनः संशोधन गरेर यदि मुलुकमा शान्ति, अमनचयन कायम हुन्छ भने त्यो गर्न खुट्टा कमाउनु हुँदैन ।’
साथै उनले जोसुकैले चाहेर पनि अहिले आएको व्यवस्था तत्कालै परिवर्तन हुने स्थिति नभएकोे भनाइ थियो ।
अहिलेको व्यवस्थाबाट आम नेपाली नागरिकले लाभ लिन बाँकी नै रहेको विषय सबैले बुझ्नु आवश्यक भएको समेत उनले बताए ।
गच्छदारले सरकारले मुलुकको तीनवटा प्रधानमन्त्री दिएको घरबाट सुरक्षाकर्मी हटाउनु अत्यन्तै निकृष्ट र राजनीतिक पूर्वाग्रही कार्य भएको बताए ।
साथै उनले एक अर्को प्रशंगका कोइराला निवासमा दिइआएको सुरक्षा हटाउनु नहुने बताउदै हटाउनु सरकारको अदुरदर्शितापूर्ण निर्णय भएको उल्लेख गरे ।
उनले दिँदै आएको सुरक्षा व्यवस्थालाई समयानुकुल परिमार्जन गर्न सकिन र हटाउनु आवश्यक नभएको तर्क समेत गरे ।
प्रतिक्रिया दिनुहोस्