सरकारले सांसदहरुलाई ६ करोड दिएर गल्ती गर्यो : महतो
काठमाण्डौ , जेठ २१ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले सांसदहरुलाई ६ करोड दिएर गल्ती गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाए ।
उनले जनता कहाँ निर्वाचनका बेला गरिएको सहमतिअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको बताएका हुन् ।
उनले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भीर आरोप लगाए ।
नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दाबी गर्दै ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उनको तर्क छ ।
नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजना बाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि त्यसअनुसार काम हुन नसकेको पनि बताए ।
यसैबिच सरकारले ल्याएको आर्थिक वर्षको बजेटमा विभिन्न राजनीतिकदलका नेताले असन्तुष्टी जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेको भन्दै आपत्ती जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्