समृद्धिका लागि युवा उद्यमशिलताको आवश्यकता : सरोकारवाला

काठमाडौं । अब बन्ने सरकारले उत्पादनमूलक एवं सेवामुखी व्यवसायतर्फ युवाहरुलाई आकर्षण गर्ने गरी योजना ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुनसरीको इटहरीमा जारी बैंक/बीमा एक्स्पोको दोस्रो दिन बोल्ने बक्ताहरुले रोजगारी सृजना गर्न उत्पादनमूलक एवं सेवामूलक व्यवसायमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका हुन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा.विष्णु प्रसाद गौतमले युवालाई उत्पादनशील क्षेत्रमा क्रियाशील बनाउन सके मुलुक समृद्ध हुन धेरै समय नलाग्ने बताए । उनले उत्पादनमूलक एवं सेवामुखी व्यवसाय विस्तारका लागि नयाँ योजना ल्याउने तयारी भएको जानकारी दिए । एक स्थानीय तह ः दुई नमुना व्यवसायी र द्रुत कर्जा गरी दुई नयाँ योजना ल्याउन लागिएको उनले बताए । ‘नयाँ व्यवस्थासहितको विनियमावली कोष संचालक समितिबाट पास गराएर मन्त्री परिषद्मा पठाइएको छ,’ डा. गौतमले भने, ‘मन्त्री परिषद्को स्वीकृती प्राप्त हुनेवित्तीकै ती योजना कार्यान्वयनमा जानेछन् ।’
लघुवित्तबाट कर्जा लिएर उद्यमशीलतामा लागेका महिलाको उदाहरण दिँदै उनले युवाहरुलाई मुलुकको उर्वर माटो बाँझो राखेर विदेश नजान आह्वान पनि गरे । राम्रा भिजन र योजना भएका युवलाई लगानी गर्न सरकार पनि तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रमा लघुवित्त वित्तीय संस्था संघका केन्द्रीय सदस्य एवं समीट माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रबहादुर बस्नेतले लघुवित्त संस्थालाई बुझ्ने युवा विदेश नजाने दाबी गरे । ‘गाउँमै केही गर्छु भन्ने युवाहरु अहिले बाध्य भएर विदेशिनुपरेको बताउनुहुन्छ,’ उनले भने, ‘तर गाउँमै केही गर्ने इच्छा भएकाले जब लघवित्त संस्थाबारे बुझ्नुहुन्छ, मलाई लाग्छ, विदेश जान जरुरी छैन भन्ने कुरा पनि थाहा पाउनुहुन्छ ।’ उत्पादनमुलक व्यवसाय गर्न चाहनेलाई पैसा बाँड्नकै लागि लघुवित्त संस्थाहरु गाउँ पसेको उनले बताए । त्यसैले सकेसम्म लघुवित्तबाट फाइदा लिने उनले युवा तथा महिलाहरुलाई
लघुवित्त वित्तीय संस्थाकी अग्रणी भगवती चौधरीले पछिल्लो समय महिलाहरु लघुवित्तबाट बढी लाभान्वित भएको बताइन् । लघुवित्तले चर्को ब्याज लिए भनेर गरिने टिप्पणीप्रति असहमति जनाउँदै उनले भनिन्, ‘लघुवित्तको अपरेटिङ कस्ट नै ज्यादा हुन्छ,’ तर त्यसबाट मानिसले पाउने फाइदा पनि उत्तिकै बढी हुन्छ ।’ उनले युवाहरुलाई सिर्जनशील र उद्यमशील काममा लगाउने खालको नीति अब बन्ने सरकारले ल्याउनुपर्नेमा जोड दिईन् ।
यस्तै फरवार्ड कम्युनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अष्टनारायण चौधरीले लघुवित्त वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न निकै महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पूण्यप्रसाद खनियाँले लघुवित्त संस्थासँग विश्वसनीय कारोबार गर्नेहरु अहिले निकै गुणस्तरीय जीवन बिताइरहेको बताए ।
कार्यक्रममा लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर उद्यमी बनेका दुईजना महिलाले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा माइक्रोफाइनान्सबाट १० हजार रुपैयाँ ऋण लिएर उत्पादनशील काम थालेकी सुनसरीका जितनी देवीले अहिले २ वटा ट्रयाक्टर किनेको सुनाइन् । यस्तै छिमेक लघुवित्तबाट शुरुमा १० हजार रुपैयाँ ऋण लिएर गाइ पाल्न थालेकी सुमित्र खतिवडाले अहिले गुणस्तरीय जीवन जिउन सक्षम भएको अनुभव सुनाइन् ।
कार्यक्रममा लघुवित्तबाट जीवन कसरी समृद्ध बनाउन सकिन्छ भन्ने आशयको नाटक पनि प्रस्तुत गरिएको थियो ।
पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो शुक्रबार राष्ट्र बैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका थिए । एक्स्पो आइतबारसम्म चल्ने आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बताए । शनिबार लघुवित्तसम्बन्धी छलफल भएको र आइतबार बीमासम्बन्धी छलफल हुने उनले जानकारी दिए । आइतबारको समापन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबि चापागाईँ लगायतको उपस्थिति रहने छ । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारीमुलक स्टल राखिएको छ ।
यसअघि सो संस्थाले सुदुरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौँमा पहिलो पटक बैंकिङ एक्स्पोको संचालन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्