जयशंकर विदेशमन्त्री हुनुले नेपालमा तरंग : सभापति देउवाले भने पठाए यस्तो सन्देश

काठमाडौं, जेठ १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् ।

सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

‘म तपाईंलाई भारत सरकारको विदेशमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा शुभकामना दिन चाहान्छु। तपाईँको नियुक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले कुटनीतिक रुपमा थप उचाइ लिने छ भन्नेमा म विश्वस्त छु,’ देउवाको शुभकामना सन्देशमा भनिएको छ ।

जयशंकरको क्षमता, ज्ञान र अनुभवको आधारमा नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुनेमा पनि देउवाले विश्वास व्यक्त गरेका छन् ।

भारतको विदेशमन्त्रीमा एस जयशंकरको नियुक्तिपछि नेपालमा तरंग पैदा समेत उत्पन्न भएको छ । अधिकांश नेपालीले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको मुख्य योजनाकार एस जयशंकर नै भएको मान्दै आएका छन् ।

तर, कूटनीतिक क्षेत्रका विज्ञहरुले भने जयशंकर विदेशमन्त्री हुँदा पनि
नेपाल – भारत सम्बन्ध सुमधुर नै रहने आशा व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउँदा विदेशसचिव रहेका एस जयशंकरलाई आफ्नो दोस्रो कार्यकालमा विदेश मन्त्री बताएका छन् ।

गैरराजनीतिक पृष्ठभूमि रहेका र नेपालमाथिको नाकाबन्दीका योजनाकार मानिँदै आएका जयशंकर विदेशमन्त्री हुनुले नेपालमा तरंग ल्याएको छ ।

जयशंकरकै कठोर नीतिका कारण भारतले नेपालमाथि नाकाबन्दी गरेको तर्क गर्नेहरुको संख्या नेपालमा कमी छैन ।

प्रतिक्रिया दिनुहोस्