प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यतर्फ फर्कँदै भने- मैले बोलेका कुरा बनावटी भए हात उठाएरै विरोध गरे हुन्छ
काठमाण्डौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै आफूले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गरेका हुन् ।
मञ्चमै बसिरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कँदै उनले आफूले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताए ।
‘महिला हेला गर्ने विषय हुँदै होइन’, प्रधानमन्त्री ओलीको भनाइ थियो,‘ मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहन्छु । मैले बोलेका कुरामा फरकरवनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’
प्रधानमन्त्री ओलीले महिलाको उत्थानबिना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गरे ।
साथै उनले महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिलाउन लागी पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्