गणतन्त्र आयो तर, जनचाहना अधुरै
काठमाडौं, जेठ १४ । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ ।
देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन सकेको छैन । यो तीतो यथार्थलाई धेरैले औँल्याउने गरेका छन् ।
कालीगण्डकी, त्रिशुली, कोशी लगायतका नदी किनारमा बालुवा चाल्नेदेखि घर निर्माण, सामान ओसारपसार, ईंटाभट्टा, ठूल्ठूला उद्योग कलकारखानामा दैनिक ज्यालादारीमा गुजारा गर्ने नागरिकलाई भने गणतन्त्र र सङ्घीयता जस्ता विषयले छोएको छैन ।
पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने जमुना नेपाली गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउँछन् । उनलाई मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ ।
‘गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, एक दशक बित्यो हामी मजदूरको अवस्था उस्तै छ,’ उनले भने– ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।’
रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उनकी श्रीमती फुलमायालाई गिट्टी नकुटे साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । कालीगण्डकीका किनार, खोला छेउछाउ दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आएको छ ।
सोही ठाउँकै ६२ वर्षीय तुल्सीराम कुमाल पनि निरन्तर गिट्टी कुट्ने गर्छन् । खोला छेउछाउ पुगेर ढुङ्गा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने । दिन गएको उनलाई पत्तो हुँदैन । गणतन्त्रले आफूलाई केही पनि नदिएको उनको ठम्याइ छ ।
‘लोकतान्त्रिक गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महशुस नै हुनसकेको छैन,’ उनले थपे– ‘बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।’ उनीहरु जस्ता धेरै मजदूरले गणतन्त्रबारे अनभिज्ञता प्रकट गरेका छन् ।
नेपाली जनताको ठूलो र अथक प्रयासले देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र संस्थागत गरेर देशलाई आर्थिक समृद्धितर्फ लान सके जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न पाउने रामपुरका राजनीतिकर्मी फणेश्वर गौतम बताउँछन् ।
वि.सं २०४६ मा मुलुकमा निरङ्कुश पञ्चायत शासन हटाएर प्रजातन्त्र बहाली गर्ने काम भयो । दश वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६२–६३ मा भएको आन्दोलनले राजतन्त्र विस्थापन गरेर गणतन्त्र स्थापना ग¥यो । यस आन्दोलनमा प्राध्यापक, कर्मचारी, मजदूर सबैले आ–आफ्ना ठाउँबाट योगदान गरे ।
वि.सं २०४६ को आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म धेरै नेपालीले ज्यान गुमाउनुपर्यो । तर, जुन उद्देश्यले आन्दोलन भयो, जे जस्ता अपेक्षा राखिएका थिए, त्यस अनुरुप उपलब्धि नहुँदा निराश हुनुपरेको २०४६ सालमा रामपुरमा भएको जनआन्दोलनका नेतृत्वकर्ता एवं काँग्रेस महासमिति सदस्य विजयराज घिमिरे बताउँछन् ।
सोही समयमा फागुन ७ गते देशव्यापी रुपमा प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलन शुरु भयो । काठमाडौँ, चितवनको भरतपुर, जनकपुरको जदुकाहा, पाल्पाको रामपुरबाट पहिलो चरणको आन्दोलन शुरु भएको थियो ।
हजारौँ जनता प्रजातन्त्रका लागि सडकमा निस्किए । रामपुरमा भएको आन्दोलनकै बीचमा सूर्यप्रसाद घिमिरेलाई गोली लाग्यो र उनले शहादत प्राप्त गरे । एक दर्जन भन्दा बढी आन्दोलनकारी गोली लागेर घाइते भए । त्यतिखेर धेरैले भूमिगत जीवन बिताएका थिए । यसै आन्दोलनलाई गणतन्त्रको शुरुआती रुप पनि मान्ने गरिएको छ ।
देखेका कुरा स्वतन्त्र रुपमा बोल्न नपाएका बखत २०४६ को आन्दोलनले नागरिकलाई स्वतन्त्र त बनायो तर, आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारले न त क्षतिपूर्ति पाए न त आन्दोलनबाट अपेक्षा गरिएको उपलब्धि नै हासिल भए ।
सरकारका तर्फबाट अहिलेसम्म कुनै सेवा सुविधा नपाएको शहीद सूर्यप्रसाद घिमिरेकी धर्मपत्नी राधादेवीेले गुनासो गरे । ‘देश र जनताका लागि लड्दै गर्दा श्रीमान्को ज्यान गयो, न त परिवारमा कुनै राहत, न त देशमा आर्थिक समृद्धि, हाम्रा दिन फेरिएनन्’ – उनले दुःखेसो गरे ।
मजदूर, गरीब, दलित, विपन्न परिवारमा हाँसो र खुशी आएको दिन गणतन्त्रको अनुभूति मिल्ने उनी बताउँछन् । ‘अझै नि लोकतन्त्र आ’को छैन है, जनताले भने झै भा’को छैन है, निरङ्कुश दासत्व हामीलाई चाहिँदैन गणतन्त्र नल्याई त मुक्ति पाइँदैन है’…..कलाकार बद्री पंगेनीको गीतले भने झै गणतन्त्र आएको लामो समयसम्म नेपाली जनतालाई गणतन्त्रको अनुभूत नहुनु भनेको आन्दोलनले सार्थकता नपाउनु हो ।
राजतन्त्र बेहोरेको मुलुकका जनताले गणतन्त्र आइसकेपछि देशमा सुख, शान्ति र समृद्धि आउने र रोजगारी सिर्जना हुने सबै नेपालीमा ठूलो आशा थियो तर, आशा अनुसार गणतान्त्रिक मुलुकले फड्को मार्न नसकेको आम नागरिकको बुझाइ छ ।
वि.सं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२–६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाउने गरिन्छ ।
गणतन्त्र आउनु अघि राष्ट्रप्रमुख हुन राजपरिवारमै जन्मिएका व्यक्ति हुनुपथ्र्यो तर, गणतन्त्रात्मक मुलुकमा हरेक नागरिकलाई राष्ट्रप्रमुख हुने अवसर छ । आज मुलुकमा सङ्घीय प्रणाली लागू भएको छ र नेकपाको नेतृत्वमा दुई तिहाईको बलियो सरकार अस्तित्वमा छ । रासस –सुशीला रेग्मी
प्रतिक्रिया दिनुहोस्