एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले लेखेको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’को शनिबार राजधानीमा विमोचन गर्दै अध्यक्ष ओलीले देशभित्र र बाहिरका केही शक्तिहरु वाम गठबन्धन तोड्न लागिपरे पनि त्यो सफल नहुने बताए ।

पार्टी एकता सरकारअघि वा पछि भन्ने विषय गौण रहेको भन्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता कसैले रोक्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमै रुमलिएर समृद्धिको दिशामा जान नसके मुलुक दुर्घटनामा पस्ने चेतावनी दिए ।

उनले तीनै तहका निर्वाचन सम्पन्न भएसँगै वाम गठबन्धनका लागि मुलुकमा आर्थिक क्रान्ति गर्ने अग्निपरीक्षा सुरु भएको बताए ।

अध्यक्ष दाहालले शान्तिवार्तापछि नै मुलुक यो अवस्थामा आउन सम्भव भएको भन्दै शान्ति–प्रक्रियालाई सजिलोरुपमा नबुझ्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार दलहरु अघि नबढेर फेरि पनि राजनीतिक प्रयोगमा लागे मुलुक अनिष्टतिर जाने चेतावनी दिए ।

कार्यक्रममा प्रमुख तीन दलका शीर्ष नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

एमाले उपाध्यक्ष गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकमा आगामी १० वर्षभित्र नेपालले गर्नुपर्ने आर्थिक समृद्धिको खाका र चिन्तन प्रस्तुत् गरिएको छ ।