भारतीय चुनावबाट नेकपाले पाठ सिक्नुपर्छ : वरिष्ठ नेता नेपाल
काठमाडौं, जेठ १० । नेपालले भारतको लोकसभा चुनावबाट नेपालको कम्युनिष्ट पार्टीले पाठ सिक्न जरुरी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
कुनै बेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालको कम्युनिष्ट पार्टीले केहि सिक्न जरुरी रहेको उनले बताए ।
शुक्रबार नेपालगञ्जमा नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै वरिष्ठ नेता नेपालले भारतीय कम्युनिष्ट नेताहरुको पार्टी्भित्रको अहंकार, नागरिकबाट टाढा हुनु र भ्रष्टिकरणले पार्टी कमजोर भएको बताए।
कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताको आचरण, व्यवहार, चरित्र र सिद्धान्तमा भ्रष्टिकरण हुन नहुनेमा उनले जोड दिए ।
साथै उनले हरेक तहका सरकार सञ्चालनका लागि पार्टी कमिटीले ध्यान दिनुपर्ने बताउँदै सरकारले पार्टी सञ्चालन गर्ने नभई पार्टीले सरकार सञ्चालन गर्ने स्पष्ट पारे ।
नेपालमा पनि कांग्रेसको अयोग्यताबाट कम्युनिष्ट पार्टीले पाठ सिक्दै जनतासँग प्रत्यक्ष जोडिनुपर्ने उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्