गृहमन्त्रीमाथि छानविन गर्न नेता भीम रावलको माग: भने- नागरिकता विधेयकमा तीन संशोधन पनि तत्काल सच्याउन पर्यो

काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्।

नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले वंशजको नागरिकता दिने सर्कुलर कानुन विपरित भएको भन्दै यसमा छानविन हुनुपर्ने माग गरेका हुन्।

वंशजलाई नागरिकता दिन गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका सिडिओलाई सर्कुलर गरेका थिए।

‘सर्वाेच्च अदालतले जन्मसिद्धको रुपमा आयोगको सिफारिसमा वितरण गरिएका नागरिकतालाई बदर गर्नुपर्छ भनेर निर्णय गरेको छ।

यसलाई कार्यान्वयन नगर्ने?’ सरकारले ल्याएको नागरिकता विधेयकबारे कुरा गर्दै रावलले भने, ‘हतार हतार त्यही बदर गरिएका जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्छ भन्ने र कानूनी रुपमा सहयोग दिने कुरा मिल्दैन।’

सर्वाेच्च अदालतले विगतमा अवैध रुपमा नागरिकता दिएको छ भनेर फैसला गरेको र जनस्तरबाट समेत कुरा उठेकाले यसमा छानविन गर्नुपर्ने उनको भनाई छ।

सर्वाेच्चले जितेन्द्र देव आयोगबाट २०५४ सालमा कानूनविपरित वितरण भएका ३४ हजार नागरिकता प्रचलनमा नल्याउन वैशाख १३ गते सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

यसैबिच नेता रावलले नागरिकता विधेयक सच्याउन पनि माग गरका छन् । नागरिकता विधेयकमा गैरकानुनी रुपमा नागरिकता वितरण गरिएको छ भने छानविन हुने व्यवस्था हुनुपर्ने उनको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्