ऊर्जा जलस्रोत तथा सिँचाइका लागी एक खर्ब रुपैयाँ भन्दा बढीको बजेट : बूढीगण्डकी पनि अघि बढ्ने
काठमाडौं , जेठ ८ । ऊर्जा जलस्रोत तथा सिँचाईको बजेट ५३ प्रतिशत बढ्ने ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलमा आगामी आर्थिक वर्षका लागि सरकारले एक खर्ब रुपैयाँ भन्दा बढीको बजेट बिनियोजन गर्न लागेको छ ।
यसअघि यति ठुलो परिणाममा यो मन्त्रालय अन्तर्गको बजेट बनेको थिएन। आगामी आर्थिक वर्षको बजेटको करिब सात प्रतिशत यो मन्त्रालयलाई दिइने भएको छ।
जलविद्युत् आयोजना, राष्ट्रिय प्रशारण लाइन र सिँचाईका आयोजनलाई मुख्य प्राथमकिता दिइएको ऊर्जा मन्त्रालयले जानएको छ। चालु आर्थिक वर्षको लागि यो मन्त्रालयमा ४७ अर्ब २१ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरिएको थियो।
फागुन मसान्तसम्ममा मन्त्रालयले ३० प्रतिशत मात्रै खर्च गरेको छ। । सरकारले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेटको आधारमा आगामी आर्थिक वर्षमा करिब १५ प्रतिशत बजेट बढाउने तयारी गरेको छ। यो मन्त्रालयको चालु आथिक वर्षको बिनियोजित बजेटको तुलनामा ५३ प्रतिशतभन्दा धेरै बढाउने तयारी सरकारले थालेको हो।
यसैबिच जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण थालिने भएको छ। पटक पटक विवादमा तानिएको यो परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्था पनि गर्ने भएको छ।
राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता राखेर आगामी आर्थिक वर्षको बजेट तयारी गरेको सरकारले १२ सय मेगावटको बूढीगण्डकी जलविद्युत आयोजनाको प्रकिया आगामी आर्थिक वर्षदेखि अघि बढाउने गरी तयारी गरेको हो।
‘राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्राथमकिता दिएका छौँ, ऊर्जा र सिँचाईसम्वन्धी आयोजना हाम्रो प्राथमिकतामा छन्’ ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले भने । ‘बूढीगण्डकी जलविद्युत आयोजना ढिलाइ गर्ने अवस्था छैन। आगामी आर्थिक वर्षदेखि नै यसको निर्माण प्रकिया अघि बढ्छ उनले भने ।
बूढीगण्डकी आयोजना भित्र पर्ने गोरखा र धादिङका स्थानीयलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिसकेको अवस्थामा काम छिटो थाल्न सरकारमाथि दबाब बढेको छ।
बूढीगण्डकी आयोजना निर्माणका लागि भन्दै उठाइएको पेट्रोलियम करबाट मात्रै सरकारको कोषमा २५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ।
बूढीगण्डकी आयोजना सवा २ खर्ब रुपैयाँमा निर्माण पुरा हुने प्राम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। चालु आर्थिक वर्षमा पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई पनि आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता राखिएको छ।
ऊर्जा तथा सिँचाई मन्त्रालयसँग जोडिएका र काम अघि बढेका आयोजनालाई आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने गरी बजेट बिनियोजन गर्ने तयारी गरिएको छ।
आगामी आर्थिक वर्षदेखि नै ग्यास चुलोलाई प्रतिस्थापन गरी ऊर्जाको प्रयोग गर्ने कार्यक्रम अघिब बढाउने तयारी सरकारले गरेको छ।
प्रतिक्रिया दिनुहोस्